भारत र चीनको सहमतिमा ओलीको आपत्ति
१४ भदौ, काठमाडौँ । चीनका राष्ट्रपति सी चीनफिडसँग सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको थियानजिन अतिथि गृहमा दुई पक्षीय भेटवार्तामा यस्तो समझदारी भएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग आपत्ति जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीका समाचार संयोजक प्रकाश सिलवालले रराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई उधृत गर्दै भन्नुभएको छ, ‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा राख्नुभएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास नेपालले लिएको छ ।’
यस्तै द्धिपक्षीय भेटवार्ता पछि प्रधानमन्त्री ओलीले एक्स मार्फत चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुन पाउँदा खुसी लागेको बताउनुभएको छ । सीसँगको भेटपछि ओलीले एक्समा दोस्रोपटक भेट हुन पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘राष्ट्रपति सीलाई लगातार दोस्रो वर्ष भेट्न पाउँदा र फलदायी द्विपक्षीय वार्ता गर्न पाउँदा खुसी लाग्यो । हामीले विभिन्न मुद्दाहरूमा प्रगतिको समीक्षा गर्यौँ र द्विपक्षीय सहयोग बढाउन सहमत भयौँ।’
सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर ओली आजै चीन पुग्नुभएको हो ।
प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार १८:२२












