बलात्कार र भ्रष्टाचार मुद्दाका अभियुक्त एमाले प्रवेश, विष्णु पौडेलले गरे भव्य स्वागत
१४ भदाै, वुटवल । रूपन्देहीमा बलात्कार र भ्रष्टाचार मुद्दाका अभियुक्त सत्तारूढ पार्टी नेकपा (एमाले)मा प्रवेश गरेका छन । शनिबार एमाले उपाध्यक्ष समेत रहुनभएको उपप्रधान एवं अर्थमन्त्री पौडेलले एमाले प्रवेश गराएका सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) बलात्कार मुद्दामा पक्राउ परेका अभियुक्त र मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केवशनन्द बनिया भ्रष्टाचार मुद्दाका अभियुक्त हुन ।
शनिबार मर्चवारमा शुक्ला र बनियालाई एमालेमा स्वागत गर्नका लागि आयोजित एक भव्य समारोहमा उपप्रधानमन्त्री पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताउनुभयो । उहाँले एमाले देशको नेतृत्व गर्न सक्ने पार्टी भएको भन्दै पार्टीमा जनता र नेताहरूको आकर्षण बढिरहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “बलियो पार्टी बिना देशको विकास सम्भव छैन भन्ने कुरा बुझेर आज हजारौं जनता, पूर्व अध्यक्षहरूसहित, एमालेमा प्रवेश गर्नुभएको छ । यसबाट म निकै खुसी छु। मर्चवारको विकासको जिम्मा एमालेलाई दिनुस्, आगामी २–४ वर्षभित्र मर्चवार क्षेत्रलाई बुटवल, भैरहवा र लुम्बिनीजस्तै बनाउँछाैँ ।’
को हुन शुक्ल ?
रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) गाउँपालिका अध्यक्ष नै रहेको समयमा बलात्कार मुद्दामा पक्राउ परेका अभियुक्त हुन । गाउँपालिका वडा नम्बर १ पकडिहवाका एक महिलामाथि जवरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका थिए । वडा नम्बर ६ असुरैनामा रहेको अध्यक्षको घरमा बोलाएर महिलालाई जवरजस्ती करणी गरेको भन्दै पीडित पक्षले दिएको जाहेरीमा उनी पक्राउ परेका थिए । उनले चोरी मुद्दामा प्रहरी हिरासतमा रहेका पीडितका श्रीमान्लाई छुटाईदिन्छु भनेर ललाईफकाई गरी बलात्कार गरेका थिए ।
को हुन बनिया ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका पात्र हुन केशवनन्द बनिया । रुपन्देहीको मर्चवारी गाउँपालिकाका अध्यक्ष रहँदा उनले अकुत सम्पत्ति कमाएको भेटिएपछि उनीविरूद्ध मुद्दा दर्ता भएको थियो । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा बनिया मर्चवारी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनी २१ असार २०७४ देखि ९ वैशाख २०७९ सम्म उक्त पदमा वहाल थिए । बनिया पदमा रहेको २०७४ असार २१ देखि २०७८ चैत ३० सम्मलाई जाँच अवधि मान्दा ९१ लाख ८६ हजार ५४३ रुपैया ३० पैसा अकुत सम्पत्ति कमाएको भेट्टिएको थियो ।
यो पनि पढ्नुहोस्
मर्चवारको समृद्धिको जिम्मा एमालेले लिने, यस्था छन अर्थमन्त्री पौडेलका प्रतिवद्धता
प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार १८:००












