५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा दायर

१२ भदौ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले जाजरकोटको भेरी नगरपालिकाका वडा कार्यालय भवन निर्माण ठेक्कामा अनियमितता गरेको भन्दै नगरपालिकाका ६ जना अधिकारी र ठेकेदार कम्पनीका २ जना साझेदार गरी ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले उनीहरुविरुद्ध ३६ लाख २० हजार ५७८ रुपैयाँ १० पैसा बिगो माग गर्दै बिहीबार विशेष अदालत आरोपपत्र दायर गरेको हो ।  आर्थिक वर्ष २०८०र८१ मा भेरी नगरपालिकाको वडा नम्बर ६, ९ र १० को वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानुन तथा नियमावलीको गम्भीर उल्लङ्घन गरी भ्रष्टाचार गरिएको पाइएको आयोगले जनाएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृतिबहादुर थापा तथा न्यू बिके/नहाकुली जेभी तथा उक्त जेभीका साझेदारहरू न्यू बिके विल्डर्स एण्ड सप्लायर्सका प्रोप्राइटर गंगा कुमारी खड्का र नहाकुली निर्माण सेवाका प्रोप्राइटर चित्र बहादुर बोहराविरूद्ध मुद्धा दायर गरेको हो।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १७:४४