२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

विद्याले चुनाव लडे भीम रावललाई जस्तै कारबाही गर्नुपर्छ म अपमान गर्न चाहन्नः ओली

१२ भदौ, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँगको भेटघाटमा व्यक्त गर्नुभएको भनाइका सन्दर्भमा दैनिकीसहितका सञ्चार माध्यममा प्रकाशित भएका समाईचारमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका तर्फबाट समाचार संयोजक प्रकाश सिलवालले जारी गर्नुभएको प्रेस नोटमा उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक नभई अनौपचारिक भेटघाट मात्र भएको उल्लेख गरिएको छ । प्रधानमन्त्रीको सचिवालयले काठमाडौँका प्रतिनिधिसँग अध्यक्ष ओलीले भन्दै नभनेको ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषय स्वार्थबाट प्रेरित भई बाहिर ल्याइएको जनाउँदै त्यसप्रति आपत्ति प्रकट गरेको छ ।

dainiki.com

भेटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनमा भएको क्षति, हाल पार्टीले अङ्गीकार गरेकोे नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, वर्तमान सरकारले विकास र सुशासनका लागि गर्दै आएका कामबारे आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष ओलीले “पूर्वराष्ट्रपति भण्डारीलाई आफूले जति सम्मान अरू नेताले नगरेका र उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुुग्नुभएको भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा विधिवत् रुपमा सदस्यता प्राप्तिको बाटो नलिएर ‘मिडिया’ र पार्टीका अन्य नेताहरुसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो । यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुुग्दैन र उहाँ त्यस रुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरुलाई लागेको छ । केन्द्रीय कमिटीले उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो । उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न । नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन”, अध्यक्ष ओलीले भन्नुभएको वास्तविकता प्रस्तुत गर्दै प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको छ ।

यस्तै ओलीले भन्नुभएको छ, ‘उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुुन्न । नेतृत्व लिने कु्रा कसैको आँखामा नबिझ्ने लालगेडी हुनुु होइन । नेतृत्व क्षमता चाहिन्छ । परिस्थिति अनुसार डटेर सामना गर्नुपर्ने हुन्छ । उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ । हारेपछि पार्टीको विरोधमा लाग्नुुहुन्छ, त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारवाहीमा जानुुपर्ने हुन्छ । त्यस खालको अपमानजनक अवस्थामा जानुुभन्दा त उहाँलाई अहिले नै सम्मानजनक हैसियत छ, त्यसैले मसँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्नेगरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ । तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुुभएको छ । उहाँलाई उहाँसँग निकट भएका साथीहरुले त्यसो नगर्न सम्झाउनुुपर्छ, उल्काउनुु हुँदैन ।’

यस्तो छ प्रेस नोट

प्रेस नोट
काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलबारे
१२ भदौ २०८२

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आशन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफल र भेटघाट कार्यक्रममा व्यक्त गर्नुभएको भनाइलाई हवाला दिएर कतिपय अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित सूचना र समाचारका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको छ । उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक थिएन, काठमाडौँ उपत्यकामै हुने विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँका महाधिवेशन प्रतिनिधिसँग अनौपचारिक भेटघाट मात्र थियो । भदौ ११ गते नै विधान महाधिवेशन हुने ललितपुर जिल्लाका पार्टी अध्यक्ष र पदाधिकारीसँग पनि अध्यक्ष ओलीको भेटघाट भएको थियो । काठमाडौँका प्रतिनिधिसँग अध्यक्ष ओलीले बोल्दै नबोलेका ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषयहरु स्वार्थपूर्णरुपमा बाहिर ल्याइएको देखिएको छ । भेटघाटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनलाई हुन पुुगेका क्षति, अहिले पार्टीले लिएको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, अहिलेको सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक कामलगायत विषयमा आफ्नो दृष्टिकोण राख्नुुभएको थियो । अध्यक्ष ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई आफूलेजति सम्मान र माया अरु नेताले नगरेको र उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभएको भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै भन्नुुभएको थियो, “पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा विधिवत्रुपमा सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरुअरु पार्टीका नेताहरुसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो । यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुुग्दैन र उहाँ त्यसरुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरुलाई लागेको छ र केन्द्रीय कमिटीले त्यसअनुसार उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुुग्ने निष्कर्ष हो ।

अतः उक्त भेटघाट कार्यक्रमका सम्बन्धमा सत्य तथ्य बुुझेर मात्रै सम्प्रेषण गर्न हुन सम्बन्धित सबैमा आग्रह गरिन्छ ।
–प्रधानमन्त्रीको स्वकीय सचिवालय ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार ११:५६