५० प्रतिशत हकप्रद निष्कासन गर्दै अरुण काबेली पावर, बोलायो साधारण सभा
१२ भदौ, काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न कम्पनीले असोज ३ गते काठमाडौंको गौशालामा रहेको होटल कृष्टल पशुपतिमा १५ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा काबेली इनर्जी कम्पनीको संस्थापक सेयरमा थप लगानी गर्ने तथा बैंकको दीर्घकालिन कर्जा आंशक भुक्तानी गर्न हाल कम्पनीको कायम चुक्तापूँजीबराबर १ः०.५० अर्थात ५० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै विभिन्न कम्पनीको संस्थापक सेयरमा गरिएको लगानी अनुमोदन गर्ने तथा नयाँ कम्पनीहरुमा लगानी सुरक्षित गर्ने र हकप्रदपश्चात कम्पनीको चुक्तापूँजी वृद्धि हुने भएकाले सो प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साथै, सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीको सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार ०९:१८














