वाणिज्य बैंकले कर्मचारीका लागि छुट्याए साढे १० अर्ब बोनस, नबिलको सर्वाधिक
११ भदौ, काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले आफ्नो कर्मचारीको लागि साढे १० अर्ब रुपैयाँ बोनस छुट्याएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले गत आर्थिक वर्षमा आफ्नो कर्मचारीको लागि बोनस वितरण गर्न १० अर्ब ६१ करोड १३ लाख रुपैयाँ छुट्याएका हुन् ।
बैंकहरुले छुट्याएको बोनस अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले ९ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको बोनस कर्मचारीलाई वितरण गरेका थिए ।
बोनस ऐनको व्यवस्थाअनुसार कर्मचारी बोनसका लागि नाफाको १० प्रतिशत छुट्याउनुपर्ने व्यवस्था छ । सोही अनुसार बैंकहरूले तोकिएको हिस्सा छुट्याएर आफ्नो कर्मचारीलाई बोनस उपलब्ध गराउने गरेका छन् ।
गत आर्थिक वर्षमा कर्मचारीलाई सबैभन्दा धेरै बोनस रकम छुट्याउने पहिलोमा नबिल बैंक रहेको छ । बैंकले कर्मचारीका लागि १ अर्ब १४ करोड ९५ लाख रुपैयाँ छुटयाएको छ । त्यस्तै, दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । सो अवधिमा बैंकले कर्मचारीका लागि १ अर्ब ६ करोड ७८ लाख रुपैयाँ बराबरको बोनस छुटयाएको छ ।
ग्लोबल आईएमई बैंकले कर्मचारी बोनसको लागि ९७ करोड ६० लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै एभरेष्ट बैंकले ८२ करोड ७१ लाख रुपैयाँ कर्मचारी बोनसमा छुट्याएको छ । प्रभु बैंकले कर्मचारी बोनसको लागि ७० करोड ५ लाख, प्राइम बैंकले ६५ करोड ९८ लाख, कुमारी बैंकले ६४ करोड २३ लाख, लक्ष्मी सनराइज बैंकले ६४ करोड ९ लाख, सिद्धार्थ बैंकले ५५ करोड ९६ लाख एनएमबि बैंकले ५२ करोड १७ लाख र स्टाण्डर चार्टड बैंकले ५० करोड ६० लाख रुपैयाँ कर्मचारी बोनसको लागि छुट्याएको छ ।
गत आर्थिक वर्षमा सानिमा बैंकले कर्मचारी बोनसको लागि ३९ करोड ५४ लाख, माछापुच्छ्रे बैंकले ३२ करोड २७ लाख, कृषि विकास बैंकले ३० करोड ७९ लाख, नेपाल एसबिआई बैंकले ३० करोड ११ लाख, राष्ट्रिय वाणिज्य बैंकले २८ करोड ६९ लाख र नेपाल बैंकले २८ करोड ५४ लाख रुपैयाँ छुट्याएको छ ।
एनआईसी एसिया बैंकले कर्मचारी बोनसको लागि सबैभन्दा कम रकम छुट्याएको छ ।यो अवधिमा बैंकले कर्मचारी बोनसका लागि २ करोड ४० लाख रुपैयाँ छुट्याएको छ । साथै, सिटिजन्स बैंकले २० करोड ४२ लाख र हिमालयन बैंकले २३ करोड १८ लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएका छन् ।
प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १३:२८












