सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले पत्रकार धम्काए
९ भदौ, धादिङ । धादिङ सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले पत्रकारलाई धम्काएका छन । समाचार लेखेको भनेर खतिवडाले पत्रकार धक्काएका हुन । नगर प्रहरीको समुहसहित धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका प्रधान सम्पादक अनिल कुमार नेपालीलाई खतिवडालाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै अध्यक्ष खतिवडाल सञ्चारमाध्यमको कार्यालयमै गई पत्रकार माथि दूर्व्यवहार गर्नुका साथै धम्की दिएको जानकारी दिनुभएको छ । शिक्षक सरुवा तथा विद्यालय समायोजन गर्ने गाँउपालिकाको निर्णयका विषयमा प्रकाशित समाचारको विषयलाई लिएर खतिवडाले पत्रकार धम्काएका हुन ।

महासंघले विज्ञप्तिमा भनेको छ, ‘प्रकाशित समाचारप्रति असहमति भए विधि अनुसरण गर्न सकिने व्यवस्था विपरीत पत्रकारमाथि धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो । अतः महासंघ यस कार्यको निन्दा गर्दै प्रेसको अधिकारमाथि हस्तक्षेप नगर्न सम्बन्धित पक्षसंग आग्रह गर्दछ । साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरुलाई कारबाही गर्न महासंघ अख्तियारी प्राप्त निकायसंग माग गर्दछ ।’
पीडित पत्रकार अधिकारीका अनुसार अध्यक्ष खतिवडाले पत्रकार लिन नगरप्रहरी पठाएका थिए । नगरप्रहरी नै परिचालन गरेपछि पत्रकार अधिकारी अध्यक्ष खतिवडाको कार्यकक्षमा पुग्नुभएको थियो । सोही क्रममा अनधिकृतव्यक्ति परिचालन गरेर अध्यक्ष खतिवडाले पत्रकार अधिकारीलाई धम्की दिएका हुन ।
प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार २१:५४









