२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

विष्णु रिमालको सिफारिसमा पिएचडीमा छनौट भए आशिष रेग्मी

९ भदौ, काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव समेत रहनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालको सिफारिसमा  एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशक आशिष रेग्मी चीनको पेकिङ युनिभर्सिटीमा पिएचडीका लागि छनौट हुनुभएको छ । सोमबार रेग्मीले रिमालसँगको भेटको तस्बिर सार्वजनिक गर्दैं यसको जानकारी दिनुभएको छ ।

dainiki.com

रेग्मीले पिएचडीको शीर्षकहरू नखुलाए पनि रिमालका लागि भव्य धन्यवाद प्रकट गर्नुभएको छ । उहाँले भन्नुभएको छ,  ‘गफ र गाली सिकाउने होइन, क्षमता अभिवृद्धि गरेर अघि बढ्न प्रेरित गराउने असली नेता 🙏। उहाँसँगको करिब दुई घण्टाको राजनीतिक कुराकानीपछि मैले जीवनकै महत्वपूर्ण निर्णय— एमालेमा जोडिने—लिएको थिएँ। त्यसयता छलफल, मार्गदर्शन र निरन्तर प्रोत्साहनले काम गर्दै अघि बढ्न पाएँ। आज विश्वप्रख्यात Peking University मा पीएचडीका लागि उहाँको प्रेरणा र सिफारिसबाट छनोटमा परेपछि नयाँ यात्राको सुरुवात गर्नुअघि उहाँसँग केही क्षण बिताउन पाएँ।’

रेग्मी र सञ्जय बराल रिमालसँगको सल्लाहमै तत्कालीन विवेकशील साझा पार्टी छाडेर एमाले प्रवेश गर्नुभएको थियो । पिएचडीका लागि चीन जानुअघि रिमालसँग भेट गरेको रेग्मीले सञ्जालमा उल्लेख गर्नुभएको छ ।

उहाँले एमाले प्रवेश गरेपछि महाराजगञ्जमा एउटा चियापसल समेत सञ्चालन गर्नुभएको थियो । उक्त पसलको रिमाल लगायतका एमाले नेताले चिया पिएर उद्घाटन गर्नुभएको थियो । रेग्मीले एमाले प्रवेश गरेपछि दुईवर्षअघि दैनिकीसँग पहिलो पटक अन्तरवार्ता गर्नुभएको थियो । उहाँसँगको त्यस समयको कुराकानी तल हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार १८:१२