२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे राष्ट्रपति पौडेल

८ भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गर्नुभएको छ । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किनुभएको थियो ।

विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको जनाउँदै यो विषय अन्तरराष्ट्रियस्तरमा पुगेको बताउनुभयो । उहाँहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि सबैलाई आग्रह गर्नुभयो ।

आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले रिहाइका लागि पहल गर्न आग्रह गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताउनुभएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार १२:४७