२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

नेविसंघ ओखलढुंगाको जिल्ला अधिवेशनमा देउवा र पौडेलपक्षबीच झडप

७ माघ, ओखलढुंगा । जिल्ला विकास समितिको हलमा नेपाल विद्यार्थी संघकाे १२ औं जिल्ला अधिवेशन राखिएकामा अधिवेशनमा दुई पक्षबीच झडप भएको छ । झडप भएपछि केन्द्रीय प्रतिनिधि पवन नेपालीले अधिवेशन स्थगित गरेका छन् । सोमबारकाे उक्त कार्यक्रममा आसनग्रहणको क्रममा देउवा र पौडेलपक्ष बीच झडप भएपछि केही नेता कार्यकर्ताहरु घाइते भएका छन् ।

झडपमा पूर्व जिल्ला सभापति बालकृष्ण दाहाल घाइते भएका छन् । उनलाई उपचारका लागि ओखलढुंगास्थित युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको छ ।

गत पुस ३० गते अधिवेशन प्रतिनिधिहरुको नामावली टुंगो लगाइसक्ने कार्यतालिका थियो तर, दुई पक्षबीच सहमति भएको थिएन । अाज पनि प्रतिनिधि टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति भएको थिएन । केन्द्रीय प्रतिनिधि टुंगो नलगाइकन अधिवेेशन उद्घाटन नगर्न पौडेल पक्षले माग गर्दै आएको थियो ।

यसैबीचमा कांग्रेस जिल्ला सभापति प्रदीप सुनुवारको निर्देशनमा जिल्ला अध्यक्ष प्रदीप बानियाँले प्रतिनिधिहरुको नामावली नबुझाइ उदघाटन सत्र सुरु गर्न लागेकाले अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको केन्द्रीय प्रतिनिधि पवन नेपालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार १९:२२