माबिलुङ इनर्जीको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउन भाग्यमै भर !
५ भदौ, काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड मिति तय भएको छ । कम्पनीको आईपीओ भदौ ८ गते आइतबार बाँडफाँड हुने भएको छ । कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।
उक्त आईपीओ धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कम्पनी लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बिहान साढे ९ बजे बाँडफाँड हुनेछ । अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २३ लाख २५ हजार २५६ जनाले २ अर्ब ६६ करोड ६७ लाख १७ हजार रुपैयाँ बराबरको २ करोड ६६ लाख ६७ हजार १७० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा २१.३५ गुणा बढी आवेदन हो ।
कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख २४ हजार ८९० जनाले प्राप्त गर्नेछन् । भने २२ लाख भन्दा बढीको हात खाली हुने छ ।
प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १७:५१












