चीन–भारतबीचको व्यापार सम्झौता स्वीकार्य छैनः गगन थापा
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतबीच भएको द्विपक्षीय व्यापार सम्झौताको प्रतिवाद गर्न सबै राजनीतिक दल एकढिक्का हुनुपर्ने बताउनुभएकाे छ ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले हाम्रो भूमिमाथि आँखा लगाउने कुरा हामी कसैलाई पनि स्वीकार्य नभएकाे भन्दै यो विषयमा नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभयाे ।
थापाले भन्नुभयाे, ‘हामी कोही पनि यो विषयलाई घरेलु राजनीतिको विषय नबनाऔं। उग्रराष्ट्रवादी हुनेतर्फ पनि हामी नलागौं। यो विषयमा भारत र चीन दुवैलाई नेपाली राजनीतिक दलहरूले एउटै सन्देश दिनुपर्छ, हाम्रो भूमिमाथि आँखा लगाउनु कुरा हामी कसैलाई पनि स्वीकार्य छैन। नेपालले यसको प्रतिवाद गर्छ। हामीले यस्तो पोजिसन बनाउनुपर्नेछ।’
प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १५:०२












