सर्वोत्तम सिमेन्टले कमायो १ अर्ब नाफा, प्रतिसेयर आम्दानीमा पनि सुधार
२ भदौ, काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७२.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १४ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ४९.८७ प्रतिशत बढेर ९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा १७३.०१ प्रतिशत बढेको छ । कम्पनीले बिक्रीमार्फत २ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले बिक्रीमार्फत ७५ करोड ५४ लाख कमाएको थियो ।
४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९८ पैसा बढेर २० रुपैयाँ १९ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ रहेको छ।
प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार ०९:३१














