२४ फाल्गुन २०८२, आईतवार | Sun Mar 8 2026

यातायात व्यवस्था कार्यालयद्धारा निःशुल्क ट्रायल सेवा शुरु

९ चैत, काठमाण्डौं । काठमाण्डौं उपत्यकाका तीन यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेको छ ।

लाइसेन्स वितरणका लागि ‘ट्रायल’ परीक्षा लिँदा शुल्क लिने व्यवस्था गरिएकोमा सर्वोच्च अदालतमा मुद्दा परी निःशुल्क सेवा दिन आदेश भएपछि उपत्यकाका तीन कार्यालयले आजदेखि निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेका कार्यालयमा सुकेधारा, ठूलो भ¥याङ र भक्तपुरस्थित सल्लाघारी रहेको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए ।

सर्वोच्च अदालतले निःशुल्क ‘ट्रायल’ लिने व्यवस्था मिलाउन आदेश दिएपछि तीनै कार्यालयले चालक प्रशिक्षण सञ्चालन गर्ने विद्यालयलाई प्रस्ताव पेश गर्न सार्वजनिक सूचना जारी गरेको हो । जसअनुसार सुकेधारा कार्यालयका लागि तीन, ठूलो भ¥याङका लागि दुई र भक्तपुरका लागि एक प्रशिक्षण केन्द्रले आवेदन दिएका थिए ।

आवेदन दिएका प्रशिक्षण केन्द्रलाई पालैपालो ‘ट्रायल’ गर्ने अनुमति दिएको उहाँले बताउनुभयो । सुकेधाराको ‘ट्रायल’ गर्ने अनुमति पाएको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधाराले आजदेखि शुरु गरेको छ । आज १५० जनाको ‘ट्रायल’ भएको प्रबन्ध निर्देशक माधवप्रसाद अधिकारीले जानकारी दिए ।

अरु सेवा पनि छिट्टै शुरु हुने केन्द्रले जनाएको छ । ठूलो भ¥याङ र भक्तपुर कार्यालयले पनि यसै सातादेखि सेवा शुरु गर्ने विभागले जनाएको छ । एकान्तकुना कार्यालयले भने १० वर्षका लागि शुल्क लिएर ‘ट्रायल’ लिने सम्झौता गरिसकेकाले निःशुल्क हुने छैन ।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार १९:२०