वाणिज्य बैंकहरुले एक वर्षमा कमाए ७१ अर्बभन्दा बढी नाफा, नबिल बैंकको सबैभन्दा बढी
३० साउन, काठमाडौँ । वर्षदिनमा वाणिज्य बैंकहरुले ७१ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८१/०८१ को चौथौ त्रैमाससम्मको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका २० बैंकले ७१ अर्ब १८ करोड ४८ लाख ५० हजार रुपैयाँ नाफा कमाएका हुन् ।
बैंकहरुले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.९७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकहरुले ४९ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
वित्तीय विवरण अनुसार गत वर्ष नबिल बैंक लिमिटेडले सर्वाधिक नाफा कमाउन सफल भएको छ। सो बैंकले गत असार मसान्तसम्ममा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.०१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष पनि बैंकले अन्य बैंकहरुभन्दा बढी नाफा कमाउन सफल भएको थियो।
त्यस्तै, सर्वाधिक नाफा कमाउने दोस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । यो अवधिमा बैंकले ६ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ भने ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ। प्रभु बैंकले ५ अर्ब ४४ करोड, एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड र लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका छन् ।
समीक्षा अवधिमा ४ वाणिज्य बैंकहरुको नाफा भने घटेको छ। प्रकाशित विवरण अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र एनआईसी एशिया बैंकको नाफा घटेको हो। जसमध्ये एनआईसी एशिया बैंकको नाफा सबैभन्दा बढी घटेको छ।
यता, स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ७.५१ प्रतिशतले घटेर ३ अर्ब, नेपाल एसबिआई बैंकको ९.८६ प्रतिशतले घटेर १ अर्ब ८० करोड, सिटिजन्स बैंकको २ प्रतिशतले घटेर १ अर्ब २९ करोड रुपैयाँ र एनआईसी एशिया बैंकको नाफा ७७ प्रतिशतले घटेर १६ करोड १५ लाख रुपैयाँ कायम भएको छ ।
वित्तीय विवरण अनुसार यो अवधिमा कुमारी बैंकको नाफा सबैभन्दा बढी रहेको छ। अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण परिमार्जन गरी प्रकाशित गरेको यस बैंकको नाफा ४५ हजार ८२१ प्रतिशतले बढेको छ। त्यस्तै, प्रभु बैंक र नेपाल बैंकले पनि नाफा वृद्धिदर उल्लेख्य देखिएको छ।
यो अवधिमा कुमारी बैंकको नाफा ४५ हजार ८२९ प्रतिशतले बढेर २ अर्ब ११ करोड पुगेको छ । त्यस्तै, सानिमा बैंकको नाफा ७.२५ प्रतिशतले बढेर २ अर्ब ५७ करोड, माछापुच्छ्रे बैंकको नाला ९२.४५ प्रतिशतले बढेर २ अर्ब १ करोड र हिमालयन बैंकको नाफा २२ प्रतिशतले बढेर १ अर्ब ५१ करोड पुगेको छ ।
प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार १०:२२












