२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

लक्ष्मी सनराइजको नाफा ४०.९७ प्रतिशतले बढ्यो

२९ साउन, काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४०.९७ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड ६३ लाख ८९ हजार रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा ३८.५५ प्रतिशत बढेर ६ अर्ब ९ करोड ८९ लाख ५७ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ । सेयरधनीलाई लाभांश दिने क्षमता १२ रुपैयाँ ३४ पैसा रहेको छ ।

२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ खर्ब ६७ अर्ब ५ करोड ३७ लाख ६ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४ करोड १ लाख ७८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९१ पैसा, प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात १४.१२ गुणा रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १०:०१