२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

नेपाल एसबिआई बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट

 २९ साउन, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेर  ५ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७ करोड रुपैयाँ रहेको थियो । बैंकको खुद सञ्चालन आम्दानी ५ अर्ब ७५ करोड र सञ्चालन मुनाफा २ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

१० अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा अनुपात १.९६ प्रतिशतबाट बढेर ३.३५ प्रतिशत पुगेको छ ।

यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ११ रुपैयाँ २९ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८१ पैसा घटेर १६ रुपैयाँ ५४ पैसा, प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात २६.६० गुणा रहेको छ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार ०९:४२