२८ बैशाख २०८२, आईतवार | Sun May 11 2025

वर्षेनी थपिँदै क्षयरोगी, २८ हजार उपचार बाहिर

९ चैत, भक्तपुर । नेपालमा वर्षेनी क्षयरोगीको संख्या बढीरहेको एक तथ्याङकले देखाएको छ । २८ हजार क्षयरोगी उपचारको दायराबाट बाहिर रहेका छन् ।

नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी थपिए पनि तीमध्ये १३ हजार उपचारको दायरामा नआउने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले जनाएको छ ।

अन्तर्रा्ष्ट्रिय क्षयरोग दिवसका अवसरमा केन्द्रका निर्देशक डा केदारनरसिंह केसीले भने,“नेपालमा नयाँ र पुराना गरी ६० हजार क्षयरोगका बिरामी छन् तर गत आर्थिक वर्ष मा ३१ हजार ७६४ जना क्षयरोगका बिरामी पत्ता लागी राष्ट्रिय क्षयरोगको कार्यक्रमको नीतिअनुसार उपचारमा रहेका छन् ।”

नेपालमा क्षयरोगका चार हजार ३२१ उपचार केन्द्र, ९६ शहरी डट्स केन्द्र, ६०४ रोग निदान केन्द्र, २७ जीन एक्सपर्ट केन्द्र र दुई राष्ट्रिय प्रेषण प्रयोगशालामार्फत क्षयरोगको सेवा प्रदान गरिएको जानकारी डा केसीले दिए ।

क्षयरोगीको संख्या यकिन गर्न क्षयरोगको प्रारम्भिक सर्वे भइरहेको जानकारी दिँदै डा केसीले ५५ जिल्लाका ९९ क्लस्टरका करीब ५७ हजारको घरदैलोमा प्रत्यक्ष पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणको विधिद्वारा गरिने सर्वेले क्षयरोगको वास्तविक अवस्था पत्ता लाग्ने बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार १८:४५