२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

हिमालयन बैंकको नाफा २२ प्रतिशतले बढ्यो, यस्तो छ अन्य वित्तीय अवस्था

२७ साउन, काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्ष १ अर्ब ५१ करोड खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.९९ प्रतिशतले घटेर १० अर्ब ४५ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने १०.८६ प्रतिशतले बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ७ अर्ब ८७ करोडबाट बढेर १० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब ८८ करोडबाट बढेर ५ अर्ब ४३ करोड पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७९ पैसा ऋणात्मक रहेको छ।

२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ २७ पैसा बढेर ६ रुपैयाँ ९८ पैसा, मूल्य आम्दानी अनुपात ३३.९८ गुणा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७ पैसा रहेको छ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार ०९:२२