१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

पहिलो दिनमै यसरी पर्यो माबिलुङ इनर्जीको आइपीओमा आवेदन

२६ साउन, काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडको आइपीमो पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ् लिमिटेडका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा ६ लाख ४२ हजार १८ जनाले ७५ करोड २७ लाख ५२ हजार रुपैयाँ बराबरको ७५ लाख २७ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ६ गुणा बढी हो ।

कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि आइपीमो निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ५० हजार ४७१ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँबराबरको १३ लाख ५४ हजार २३५ कित्ता सेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ३० हजार ९५ कित्ता सेयर कर्मचारीहरुका लागि र ७५ हजार २३६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा साउन २९ गते हुनेछ भने ढिलोमा भदौ ९ गते हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार १७:५२