२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

काभ्रेमा केपी ओलीको टेको भाँचियो, युवा संघले दियो खतरनाक सन्देश

२५ साउन, काभ्रे । काभ्रेमा नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिको टेको भाँचिएको छ । एमालेमा विद्या भण्डारी समूहको प्रखर नेता भएर पनि कतै बोल्न नपाउँदा ओलीका लागि काभ्रेमा भने त्यस्तो अवसर उपलब्ध हुने गरेको थियो । विगतमा दुई पटकसम्म ओली एमालेको अध्यक्ष निर्वाचित हुँदा समेत ९० प्रतिशत भन्दा बढी मत दिएको काभ्रेको विश्वास यतिखेर भने भत्किएको छ ।

नेकपा एमाले काभ्रेका एक नेताका अनुसार ओलीले टिकट दिएर युवा संघमा चुनाव जिताएका क्षितिज थेवेहरूले संगठनलाई ओलीकै शैली अर्थात प्राइभेट लिमिटेड मोडलमा चलाउन खोजेपछि बिद्रोह भएको छ । उहाँले केपीको अब काभ्रेको टेको भाँचिएको र त्यसको सन्देश युवा संघ मार्फत दिएको बताउनुभयो ।

उहाँले दैनिकीसँग भन्नुभयो, ‘ओलीले विगतमा आश्रय लिएको विचार समूहका मुख्य नेता पूर्व राष्ट्रपति एवं पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता नै ‘कु’ गरेपछि उहाँको चौतर्फी आलोचना भैरहेको छ । विगतमा विद्या भण्डारी नेतृत्वको समूहमा अभ्यास गरेर नेतृत्वमा स्थापित ओली र महासचिव शंकर पोखरेलले नै अहिले विद्याविरूद्ध विभिन्न प्रचार समेत गर्न उद्धत हुनुहुन्छ । काभ्रेले त्यसैको जवाफ दिएको हो ।’

काभ्रेले ओली निकटका युवा संघका नेताहरूको आदेश धोति लगाउँदै एघारौं जिल्ला अधिवेशन भव्यताका साथ सम्मन गरी नयाँ नेतृत्व निर्वाचित गरेको छ । कतिपय एमाले नेताले यसलाई वर्तमान नेतृत्वको विरूद्धमा खतरनाक सन्देशको रूपमा लिएका छन । उनीहरूले अब काभ्रेमा ओलीका लागि काँध थाप्ने रेशम लामा र चन्द्रा लामा मात्र बाँकी भएको निष्कर्ष समेत निकालेका छन ।

केन्द्र र प्रदेशको अधिवेशन रोक्ने आदेश अस्वीकार गर्दै सम्पन्न भएको एघारौं जिल्ला अधिवेशनबाट धुलिखेलका सीबी लामा अध्यक्षमा चुनिनु भएको छ । उपाध्यक्षमा रमेश बुढाथोकी, सचिवमा अमन धिताल, सहसचिवमा राजेन्द्र लामा र सगुन थापा तथा कोषाध्यक्षमा शिवप्रसाद ढुंगेल  चुनिनु भएको छ । युवा संघका नेता प्रकाश गौतमका अनुसार संगठन विभागमा प्रमुख किरण तामाङ चुनिनुभएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार ०६:५१