प्रधानमन्त्रीको टिप्पणीमा वडा अध्यक्षको काउन्टर ‘यस्तो वाहियात कुरो कस्ले सुनाउँछ यिनलाई !’
२६ साउन, काठमाडौँ । कृषि मन्त्रालयको जानकारी भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले रसायनिक मलका बारेमा झुटो तथ्याङ्क देखाएको एक वडा अध्यक्षले बताएका छन । हरेक दिन रसायनिक मलकै लागि किसानहरूको घुर्की र धम्की व्यहोर्दै आइरहेका वडा अध्यक्षहरू प्रधानमन्त्रीले मल व्यापक मात्रामा मौज्जाद छ भनेर देखाउन खोजेपछि रिसाएका हुन ।
धादिङको थाक्रे गाउँपालिकाका वडा नम्बर ७ का अध्यक्ष युवराज खतिवडाले प्रधानमन्त्रीले फेसबुकमा मलको मौज्दात पर्याप्त रहेको छ भन्दै दिन खोजेको सन्देश माथि नै टिप्पणी गर्दै यस्तो वाहियात कुरो कस्ले सुनाउँछ यिनलाई १ भन्दै आश्चर्य प्रकट गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘यस्तो वाहियात कुरो कस्ले सुनाउँछ यिनलाई ! वैशाख देखि आज का दिन सम्म ८५० धुरी किसान भएको वडा मा २४० बोरा युरिया मल पठाएका छौं,अनि फेसबुकमा मल मौज्दात देखाउँछौं । हामी वडाका जनप्रतिनिधिलाई मलको कारण गाउँ हिँड्न नहुनी भइसक्यो।’
वडा अध्यक्ष खतिवडाले यस वर्ष पनि खेतीको सिजनमा मल नहुँदा स्थानीय तहका जनप्रतिनिधिलाई मुख देखाएर हिड्नै कठिन भएको गुनासो गर्नुभएको छ । यता प्रधानमन्त्री अोलीले भने फेसबुकमा टन्नै मल रहेको दाबी गर्नुभएको छ ।
प्रधानमन्त्रीले भन्नुभएको छ, ‘यसवर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ। कृषि मन्त्रालयले दिएको जानकारी अनुसार तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ। यतिबेला कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ । यस्तै साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ ।’
प्रधानमन्त्रीको दाबी अुनसार २७ हजार ५ सय २३ मेट्रिक टन युरिया मौज्दात छ । त्यस्तै ८ हजार ५ सय ९५ मेट्रिक टन डिएपी मौज्दात छ । यस्तै ६ हजार ७ सय मेट्रिक टन पोटास मौज्दात छ । कृषि मन्त्रालयको गतल सूचनामा प्रधानमन्त्रीको यो दाबी हावादारी रहेको निष्कर्षसहित वडा अध्यक्ष खतिवडाले भन्नुभएको छ, ‘प्रधानमन्त्री ज्यूको हिसाबमा करिब ५ लाख ५० हजार बोरा मल मौज्दात रहेको जानकारी कृषि मन्त्रालयले दिएछ। कृषि मन्त्री रामनाथ अधिकारीज्यु धेरै होइन ३ हजार बोरा मात्रै भएपनि थाक्रेलाई दिनुभयो भने हजुरलाई कोटीहोम गएर लाखौं दान गरेभन्दा ठुलो धर्म मिल्थ्यो की।’
खतिवडा वडा अध्यक्षमात्र होइन प्रधानमन्त्रीले नै नेतृत्व गरेको नेकपा (एमाले) धादिङको जिल्ला कमिटी सदस्य पनि हुनुहुन्छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार ०६:००












