महालक्ष्मी विकास बैंकका बचतकर्ताको पैसा जुवामा, शाखा प्रबन्धकसहित चार कर्मचारी पक्राउ
२५ साउन, काठमाडौँ । महालक्ष्मी विकास बैंकका बचतकर्ताको पैसा जुवामा लगानी गरेको पाइएको छ । महालक्ष्मी विकास बैंकका चार जना कर्मचारीले मिलेमतो गरी बैंकका बचतकर्ताको रकम जुवामा लगानी गरेका हुन ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित बैंकका चार जना कर्मचारीले बचतकर्ताको पैसा जुवामा लगानी गरेको पाइएपछि उनीहरू माथि कारबाही सुरू भएको छ ।

बैंकको प्रारम्भिक अनुसन्धानबाट कर्मचारीहरूले बैंकको पैसा ‘वन एक्स बेट’ भन्ने अनलाइन जुवामा लगानी गरेको पुष्टि भएको छ । मिलेमतोमा रकम अपचलन गरेको भन्दै बैंकले उनीहरूलाई निलम्बन गरेको छ ।
पक्रउ पर्नेमा शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन्। उनीहरूले बैंकको मूल खातामा रकम मौज्दात देखाएर रकम हिनामिना गरेको पाइएको छ।
पक्राउ परेका कर्मचारीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । यसअघि गत बिहीबार बैंकको केन्द्रीय अनुगमन टोलीले चार कर्मचारीले दुई करोड ८४ लाख ७६ हजार ७०० रुपैयाँ अपचलन गरेको पत्ता लगाएको थियो । सोही आधार प्रहरीले कर्मचारी पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार २३:०४












