१२१ प्रतिशतले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा
२५ साउन, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार गत आवमा यो कम्पनीले २३ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा १२१.९१ प्रतिशतले धेरै हो । लघुवित्तले अघिल्लो आर्थिक वर्षमा १० कराड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ६३ करोड १४ लाख रुपैयाँबाट बढेर ७५ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ७० करोड ४४ लाख रुपैयाँबाट बढेर ८४ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
कर्जा प्रवाह पनि ८ अर्ब ५० करोड रुपैयाँबाट बढेर ९ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा १७ करोड १९ लाख रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात ४.०७ प्रतिशतबाट घटेर ३.६२ प्रतिशत कायम भएको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३८.११ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१५.३५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.६५ गुणा रहेको छ । ६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७१ करोड ३९ लाख रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार १२:५९












