२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

कृषि विकास बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२५ साउन, काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.८८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १० अर्ब ५५ करोडबाट घटेर ९ अर्ब ८२ करोडमा झरेको छ। बैंकको कुल सञ्चालन आम्दानी १२ अर्ब २२ करोडबाट घटेर ११ अर्ब ९९ करोड रुपैयाँमा झरेको छ। सो अवधिसम्ममा २ अर्ब ५५ करोड २० लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको यस बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४२ पैसा रहेको छ।

१३ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १९ अर्ब ८६ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यसैगरी अघिल्लो वर्ष बैंकको सञ्चालन नाफा ४ अर्ब १३ करोड रुपैयाँ रहेकोमा गत वर्ष ४१.२९ प्रतिशतले बढेर ५ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।  बैंकको खराब कर्जा ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा झरेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७ पैसा बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.८४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा रहेको छ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार १०:१८