२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

खराब कर्जा बढेपछि सिटिजन्स बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

२५ साउन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७७ करोड ५४ लाख रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ २५ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १९.७४ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी १५.१३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.३२ प्रतिशत घटेको छ। अघिल्लो वर्ष यही अवधिमा ४.१० प्रतिशतमा सीमित खराब कर्जा अनुपात बढेर यो वर्ष ४.९४ प्रतिशत पुगेको छ ।

१४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १९ पैसा घटेर ८ रुपैयाँ ७६ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार ०९:१६