२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न नुवाकोट बेलकोटगढीका समिरसहित तीन जना पक्राउ

२३ साउन, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन जना पक्राउ परेका छन् । संगठित रूपमा कानून विपरित मानव अङ्ग मृगौला झिकी मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भएका २४ वर्षीय समिर नेपाली, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका(१० घर भएका ३५ वर्षीय कुमार भन्ने राज कुमार परियार र सोही नगरपालिका-४ घर भएका ४७ वर्षीय राकेश नेपाली रहेका छन् । मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले समिरलाई काठमाडौं महानगरपालिका- २६ मित्रनगर नयाँबसपार्कबाट र राकेशलाई टोखा नगरपालिका-३ बानियाँटारबाट बुधबार तथा राज कुमारलाई काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बाट बिहीबार पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रमममा उनीहरूले पीडितलाई विभिन्न प्रलोभन देखाई २०८२ जेठ महिनामा भारतको चण्डीगढस्थित अपार्टेन्टमा पुर्‍याएको, मृगौला निकाले बापत ६ लाख रूपैयाँ रकम आउने, नेपाल फर्कने बेलामा पैसा दिन्छु भनी प्रलोभन देखाएकोमा पीडितले ईन्कार गर्दा डर त्रास, करकापमा पारी चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा २०८२ साउन ९ गते वाँया मृगौला झिकेको प्रहरीले जनाएको छ । साथै उनीहरूले पीडतबाट झिकिएको मृगौला चर्को मुल्यमा बिक्रि गरी मानव अंगको गैरकानूनी व्यापार गर्ने गरेको समेत अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट संगठित अपराध निवारण ऐन, २०७० बमोजिम ७ दन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १३:०६