उत्तराखण्डमा बाढीपहिरोः धादिङका ४ जना सम्पर्कविहीन
२३ साउन, काठमाडौँ । भारतको उत्तराखण्डमा मजदुरीका लागि गएका धादिङको ज्वालामुखी गाउँपालिकाका चार जना नेपाली बाढी पहिरोमा परेको आशङ्का गरिएको छ । उनीहरू घटना हुनुभन्दा केही समयअघि परिवारको सम्पर्कमा रहेपनि त्यसपश्चात् सम्पर्कविहीन भएको बताइएको छ । परिवारका सदस्यहरूले उनीहरूको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङलाई अनुरोध गरेका छन् ।
परिवारका सदस्यहरूको आग्रह अनुसार गृह मन्त्रालयमार्फत भारतीय दूतावासलाई खोजीका लागि अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानी ठेगाना भएका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
यसअघि उत्तराखण्डको बाढीमा जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएको खबरहरू आएका थिए । साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठुलो जनधनको क्षति पुर्याएको छ ।
प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार ११:२७









