धनुषामा तस्कर र सशस्त्र प्रहरीबीच झडप
२१ साउन, धनुषा । धनुषामा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । प्रहरीले झडपको क्रममा चार राउण्ड हवाई फायर गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
जिल्लाको विदेह नगरपालिका–२ दुहवीस्थित आँप बगैचामा साउन २१ गते साँझ करीव सवा ८ बजेको समयमा भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुबाट डिएसपिको कमाण्डमा रहेको सुरक्षा फौजले उक्त तस्करिको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय वासिन्दा जम्मा भई सुरक्षाकर्मी माथी ढुङ्गामुढा प्रहार गरेका थिए ।

पछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनेक्रममा चार राउण्ड हवाई फायर गरेको हो । झडपका क्रममा स्थानीयले तस्करीको केही सामान लुकाएका छन् भने एउटा मोटरसाईकल र केही किरान सामान नियन्त्रणमा लिइएको छ । बरामद सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ डिएसपी थापाले बताउनुभयो ।
प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार २२:२०












