सेयर बजारमा उच्च अंकको गिरावट, १३ अर्बमा झर्यो काराेबार
१८ साउन, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । यस दिन नेप्से ६३.७३ अंकले घटेर २८५८.९० को बिन्दुमा बन्द भएको छ ।
आज ३१९ वटा कम्पनीको तीन करोड २२ लाख ६० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १३ अर्ब सात करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी लघुवित्त समूह तीन दशमलव शून्य पाँच, बैंकिङ दुई दशमलव २७, लगानी दुई दशमलव १९, जीवन बिमा दुई दशमलव १६ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ४३ प्रतिशतले घटेको छ ।
विकास बैंक एक दशमलव ६६, वित्त एक दशमलव ६६, होटल तथा पर्यटन एक दशमलव १७, जलविद्युत् एक दशमलव ३०, म्युचुअल फण्ड एक, निर्जीवन बिमा एक दशमलव ७३ र व्यापार एक दशमलव ४३ प्रतिशतले घटेको छ ।
उक्त दिन नेपाल रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७५ करोड ३९ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन ट्रेड टावर लिमिटेड र शिव श्री हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हाे । यस दिन सान्भि इनर्जीकाे सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
प्रकाशित मिति : १८ श्रावण २०८२, आईतवार १५:३१













