१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

ट्रम्प–किम दोस्रो शिखर सम्मेलन फेब्रुअरी अन्त्यमा

५ माघ, काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर सम्मेलन आउदो “फेबु्रअरीको अन्त्य तिर हुने” अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ । उत्तर कोरियाको सत्तारुढ दल कोरियन वकर्स पार्टीको केन्द्रीय कमिटिका उपाध्यक्ष किम योङ चोलसँग ओभल अफिसमा अमेरिकी राष्ट्रपति ट्रम्पको भेटपछि राष्ट्रपतिको कार्यालयले यस्तो बताएको हो ।

“राष्ट्रपति डोनाल्ड ट्रम्पले किम योङ चोलसँग साढे एक घण्टा बैठक गर्नु भयो, बैठकमा आणविक हतियार निःसशस्त्रीकरण र दोस्रो शिखर सम्मेलनका बारेमा छलफल भएको छ,” ह्वाईट हाउसका सञ्चार सचिव सराह सन्डेर्सले भन्नुभयो ।

उहाँले शिखर बैठकको ठाउँ र आउदो फेब्रुअरीको अन्त्य तिर बैठक गर्ने बारेमा छलफल भएको जानकारी दिनुभयो । दशकौँदेखि उत्तर कोरिया र अमेरिकाबीच जारी द्वन्द्वको अन्त्यको वार्ताको लागि चोलको नेतृत्वमा उत्तर कोरियाली उच्च अधिकारीको टोली वासिङ्टन भ्रमण आएको छ ।

उत्तर कोरियाली सेनाका ती उच्च सैन्य जर्नेल चोल उत्तर कोरियाली सरकारका एकजना प्रभावशाली व्यक्ति मानिनुहुन्छ । उहाँ उत्तर कोरियाली नेता किम जोङ उनको विश्वास पात्रका रुपमा काम गरिरहेका उच्च सैन्य अधिकारी हुनुहुन्छ । उहाँले ट्रम्प र अमेरिकी उच्च अधिकारीहरुसँग विषेश गरेर दोस्रो शिखर सम्मेलनकै बारेमा छलफल गर्नुभएको छ ।

किमको गत नोभेम्बरको शुरुमा नै वासिङटनको भ्रमण गर्ने समय तालिका रहेको थियो । तर त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चीसोपना आएपछि सो भ्रमण रद्द भएको थियो । किम जोङ उनले नयाँ वर्षको शुभकामनाको पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाएपछि पुनःसम्बन्धका नयाँपन आएको थियो ।

केही दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेको थियो । उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्ध गत वर्षबाट सुधार भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिङ्गापुरमा शिखर वार्ता भएको थियो ।

सो पहिलो शिखर वार्तामा छिट्टै नै अर्काे शिखर वार्ता हुने भनिएपनि आउने फेब्रअरीको अन्त्यमा मात्रै हुने भएको हो । दोस्रो शिखर सम्मेलनको आतिथ्यता भने भियतनाले गर्ने इच्छा व्यक्त गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार १७:३५