झापा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
१८ साउन, काठमाडौं । झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५७ लाख २ हजार ९०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५७ हजार २९ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : १८ श्रावण २०८२, आईतवार ०९:५०














