आरम्भ चौतारी लघुवित्तको नाफा उल्लेख्य बढ्यो, प्रतिसेयर आम्दानी कति ?
१४ साउन, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले ९ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ६ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
यो अवधिसम्ममा कम्पनीले ३७ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको तुलनामा ३१.८९ प्रतिशतले बढी हो । साथै, कम्पनीको खुद सञ्चालन आम्दानी ४५ करोड ३८ लाख र सञ्चालन मुनाफा १३ करोड ४८ लाख रुपैयाँ रहेको छ ।
३६ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २० करोड ६२ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब २५ करोड ४१ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ३१ करोड ५२ रुपैयाँ कर्जा लगानी गरेको छ। यस्तै संस्थाको वितरणयोग्य मुनाफा ५ करोड २१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७२ पैसा, मूल्य आम्दानी अनुपात ४२.२८ गुणा र प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा रहेको छ ।
प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार ०९:५०












