१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025

झापा इनर्जीको आईपीओ बिक्री खुला, क- कसले भर्न मिल्छ ?

१४ साउन, काठमाडौं । झापा इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे हाे ।

कम्पनीले गत असार ३१ गते प्रति सेयर रू. १०० अंकित दरका ९ लाख ५० हजार ४७५ कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये आयोजनाको प्रत्यक्ष प्रभावित क्षेत्र अर्थात झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भई रहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता र आयोजनाको अप्रत्यक्ष प्रभावित क्षेत्र अर्थात झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ (आयोजनाको प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र संचालन भई रहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्र बाहेकको)बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता र नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ५७ हजार २९ कित्ता आईपीओ जारी गरेको हो ।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन २८ गते हुनेछ भने ढिलोमा भदौ १२ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा साउन १८ गते हुनेछ भने ढिलोमा साउन २८ गते हुनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले हिमालय बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार ०९:०३