सरकारले उद्योगी र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छः सभापति देउवा
१३ साउन, ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेसको वित्तीय संस्था समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा उहाँले कांग्रेस र नेकपा (एमाले)बीच भएको सातबुँदे सहमतिको एउटा महत्त्वपूर्ण उद्देश्य अर्थतन्त्र चलायमान बनाउनुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विसं २०४८ मा कांग्रेसको सरकार आएपछि निजीकरण र उदारीकरणको नीति ल्याएको हो, त्यसपछि कांग्रेसले धेरै गाली खायो, गिरिजाप्रसाद कोइरालाले धेरै गाली खानुभयो, तर पनि हामी नीति क्षेत्रलाई उद्योग र व्यापार सञ्चालन गर्न सहयोग गर्न तयार छौँ, व्यापार व्यापारीले गर्ने हो, उद्योग उद्योगीले गर्ने हो, सरकारले उद्योग व्यापार गर्ने हैन, सरकारले के सहयोग गर्नुपर्छ, त्यो सहयोग गर्न तयार छौँ ।”
सभापति देउवाले लामो सशस्त्र द्वन्द्व, २०७२ को विनाशकारी भूकम्प, कोभिड–१९ को महामारी, रूस–युक्रेनबीच भएको द्वन्द्वले समेत नेपालको अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावका बाबजुद पनि मुलुकको आर्थिक स्थायित्व कायम रहन सक्नुमा २०४८ पछि कांग्रेसको सरकारले बसालेको दरिलो अर्थतन्त्रको जग भएको दाबी गर्नुभयो ।
सभापति देउवाले वर्तमान अवस्थामा अर्थतन्त्रका बाह्य सूचकहरू, सरकारको चालु खाता र शोधनान्तर बचत निरन्तर बढ्दै गएको, विदेशी मुद्रा सञ्चितिमा उल्लेखीय सुधार भएको, रेमिट्यान्स उच्च दरमा वृद्धि भएको, मुद्रास्फिति करिब चार प्रतिशतमा सीमित भएको, निजी क्षेत्रमा भएको कर्जा प्रवाह चार दशमलव छ प्रतिशतले वृद्धि भएको र गत वर्षको तुलनामा आयात १३ दशमलव एक प्रतिशत र निर्यात ७७ दशमलव आठ प्रतिशतले वृद्धि भएको जानकारी गराउनुभयो ।
“विद्युत् उत्पादन तथा वितरण, वित्तीय तथा बिमा, खानी तथा खनिज पदार्थ उत्खनन क्षेत्रको योगदानको कारण आर्थिक वृद्धि हुने सङ्केत देखा परे पनि अर्थतन्त्रको वास्तविक क्षेत्र उत्पादन, रोजगारी, उद्योग व्यवसायको अवस्था, लगानी अभिवृद्धि लगायत सूचकहरूमा अपेक्षित सुधार गरी निजी क्षेत्र र आम नागरिकको विश्वास जित्न अझै प्रयत्न गर्नुपर्नेछ,” सभापति देउवाले भन्नुभयो, “विकास खर्च शीर्षकमा विनियोजित बजेटको ठूलो हिस्सा खर्च गर्न नसक्ने प्रवृत्तिले निरन्तरता पाइरहेको छ, यसलाई अन्त्य गर्न संरचनागत, संस्थागत, प्रकृयागत सुधार एवं आवश्यक ऐन कानुन र कार्यविधि यथाशीघ्र बनाएर पुँजीगत खर्च समयमै गर्ने परिपाटी बसाल्न आवश्यक छ ।”
सभापति देउवाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरिएको मौद्रिक नीतिअनुसार ब्याजदर घटेकाले बैंकमा जम्मा भएको ठूलो रकम कर्जा प्रवाहमा विस्तार भई औद्योगिक व्यवसाय तथा सर्वसाधारण जनतामा केही उत्साह जगाउने विश्वास व्यक्त गर्नुभयो ।
“रेमिट्यान्समा हामी परनिर्भर हुनुपर्ने अवस्थाका कारण कृषि र उद्योगलाई यसले गम्भीर असर पुर्याएको छ, तसर्थ, रेमिट्यान्सलाई उत्पादनसँग जोड्ने वित्तीय र मौद्रिक नीति प्रभावकारी बनाउन अति आवश्यक छ,” उहाँले भन्नुभयो, “वर्तमान अवस्थामा सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउने उद्देश्यले सहकारी प्राधिकरणको व्यवस्था गरिएको छ, कतिपय सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताको बचत रकम यथाशीघ्र फिर्ता दिलाउन प्रभावकारी नीति लिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १८:२६