३० पुष २०८२, बुधबार | Thu Jan 15 2026

देशभरका ८ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

१२ साउन, काठमाडौं । देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संखुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र नुवाकोटको शिवपुरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक, हुम्लाको सिमकोट गाउँपालिकास्थित कर्णाली करिडोर र जाजरकोटको छेडगाड नगरपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरोध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालिगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १२:०५