२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

जुवाको खालबाट नुवाकोटका दुईसहित ७ जना पक्राउ

११ साउन, काठमाडौं । जुवा खेल्ने नुवाकोटका दुईसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ सिमलीगाँउबाट जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–३ मुहानपोखरी बस्ने वर्ष ३० को राम तामाङ, नुवाकोटको शिवपुरी–४ घर भई हाल बूढानीलकण्ठ–२ देउवा चोक बस्ने वर्ष २४ को समीर तामाङ, बाराको निजगढ नगरपालिका–७ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१ सिमलीगाँउ बस्ने वर्ष ५४ को लिला मगर, रामेछापको मन्थली नगरपालिका–६ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१ सिमलीगाँउ बस्ने वर्ष ३९ को श्याम तामाङ, बूढानिलकण्ठ नगरपालिका–३ मुहानपोखरी बस्ने वर्ष ५८ को राम बहादुर पौडेल, हात्तीगौडा बस्ने वर्ष ४४ को राजेश महर्जन र बूढानिलकण्ठ नगरपालिका–३ मुहानपोखरी बस्ने ४२ कि सुनिता गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार सिमलीगाँउ स्थित जस्ताको टहरामा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५० हजार ३३० रुपैयाँ र तास सहित पक्राउ गरेकाे हाे । उनीहरूमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपील राज बोहराले बताउनुभयाे ।

प्रकाशित मिति : 17:14