३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

उपदान र पेन्सन कोषको १ अर्ब निक्षेपमा राख्दै राष्ट्र बैंक

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ निक्षेप बैंक तथा वित्तीय संस्थामा राख्ने भएको छ । राष्ट्र बैंकले उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो ।

केन्द्रीय बैंकले उक्त १ अर्बमध्ये वाणिज्य बैंकमा ८० करोड, राष्ट्रियस्तरको विकास बैंकमा १५ करोड र राष्ट्रियस्तरको फाइनान्स कम्पनीमा ५ करोड निक्षेप राख्ने छ । यसरी राखिएको निक्षेपको ब्याजदर भने त्रैमासिक भुक्तानी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले लिन चाहेको निक्षेप रकम र दिने ब्याजदर तोकेर मंगलबारसम्म केन्द्रीय बैंकमा आवेदन दिनुपर्ने छ । त्यसका लागि केन्द्रीय बैंकले निक्षेप लिने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पूँजीकोष तोकिएको सीमामा रहेको, कुल खराब कर्जा ८ र खुद खराब कर्जा ३ प्रतिशतभन्दा धेरै नभएको हुनुपर्ने लगायतका सर्त केन्द्रीय बैंकले राखेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १६:२३