१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटलसँग गर्यो सम्झौता

७ साउन, काठमाडाैं । नेपालको केबल तथा तार उत्पादनमा अग्रणी कम्पनी  सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पूँजीको २० प्रतिशत आईपीओ सर्वसाधारणलाई निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ।

यसका लागि सारथी केवल इन्डष्ट्रीज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग आईपीओसम्बन्धी सम्झौता सम्पन्न भएको छ। साउन ७ गते काठमाडाैंकाे होटल मेरियटमा भएको भएको उक्त सम्झौतामा कम्पनीका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

आईपीओबाट संकलित रकमको प्रयोग नेपालमै पहिलोपटक अन्डरग्राउण्ड बेवल उत्पादन सुरु गर्न उपयोग गरिने कम्पनीले जनाएको छ । यसका साथै अत्याधुनिक प्रविधि प्रयोगगरी आल्मुनियम फर्नेन्स प्लान्ट जडान गर्ने लक्ष्य समेत कम्पनीले लिएको छ। यसले आयातमा निर्भरता घटाउनुका साथै नेपालको विद्युत पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ। यसका साथै लगानीकर्ताहरू र ग्राहकहरूका लागि दीर्घकालीन मूल्य सिर्जना हुने अपेक्षा गरिएको छ।

कम्पनीका अध्यक्ष भुसालले भने, “यो सम्झौता नेपालको विद्युत पूर्वाधारलाई आधुनिकीकरणतर्फ डोहोर्याउने हाम्रो अभियानमा महत्वपूर्ण उपलब्धि हो । हामी राष्ट्रिय आवश्यकतालाई ध्यानमा राख्दै आन्तरिक उत्पादनमा आधारित सशक्त प्रणाली विकास गर्दैछौं ।”

त्यसैगरी, सिटिजन्स क्यापिटलका प्रमुख श्रेष्ठले भने, “सारथी केवलसँगको सहकार्य हाम्रो लागि गौरवको विषय हो । यो आईपीओले लगानीकर्तालाई सुगम अवसर प्रदान गर्नेछ । साथमा, देशको केवल उत्पादन क्षमतामा समेत उल्लेखनीय योगदान पुर्याउनेछ ।”

नेपालमा करिब ८३,००० मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको पृष्ठभूमिमा सारथी केवलको भूमिका अझै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । १८ वर्षदेखिको अनुभव बोकेको यस कम्पनीले भविष्यमा नेपालको प्रसारण तथा वितरण प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार १६:५५