गोविन्द केसीको मागबारे ओलीले भने ‘म संसदलाई निर्देशन दिन सक्दिन तर संसदको निर्देशन मान्छु’
४ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा गोविन्द केसीसँगको सहमति पालनाको नाममा आफूले संसदको विशेषाधिकारमा हस्तक्षेप गर्न नमिल्ने र नगर्ने स्पष्ट पारेका छन । शुक्रबार संसद बैठकमा प्रधानमन्त्रीसँगको प्रश्न र उत्तरको कार्यक्रममा नेपाली कांग्रेस नेता गगन थापाले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसदले दिएको निर्देशन आफूले मान्ने बताए ।
प्रधानमन्त्रीले भने ‘म संसदलाई निर्देशन दिन सक्दिन तर संसदको निर्देशन मान्छु ।’ ओलीले सरकारले केसीसँग गरेको सहमति पालना गरेको भन्दै अन्यथा गर्नुपर्ने विषय केही बाँकी नरहेको बताए । उनले लोकतन्त्रमा संसद, संसदीय सर्वोच्चता र नागरिकको सार्वभौमसत्ताको पनि प्रश्न रहेको बताए । ओलीले सरकारले गरेका तत्कालिन परिस्थीतिको उपज डाक्टर केसीसँग सम्झौतामा भएको भन्दै सरकार त्यसमा प्रतिवद्ध रहेको र त्यसैको आधारमा सरकारले ऐनको प्रस्ताव पेश गरेको बताए ।
केसी पछिल्लो पटक कम्युनिष्टहरू समेत सिध्याउने उद्घोषसहित अनशनमा बसेका छन । केसीलाई अनशनमा बसेको १० औँ दिन स्वास्थ्यमा केही समस्या आएको भन्दै नेकपाका नेता नारायणकाजी श्रेष्ठको पहलमा आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर त्रिवि शिक्षण अस्पालमा राखिएको छ ।
यस्तै संसदको विशेष अधिकार हनन हुन नहुनेभन्दै इलाम पुगेरै अनशन सुरू गरेका युवा विजय थापको स्वास्थ्यमा पनि समस्या आएपछि आज त्रिवि शिक्षण अस्पताल काठमाडौँ लयाएर भर्ना गरिएको छ ।

यसैबीच प्रधानमन्त्रीले वर्तमान सरकार शुसासन र विकासका निम्ति प्रतिबद्ध रहेको भन्दै भ्रष्टाचारको उल्मूलन र पारदर्शिताका निम्ति सरकार प्रतिबद्ध रहेको बताए । ओलीले नेपाल लिक्सले सार्वजनिक गरेका तथ्यका विषयमा सरकारले अवश्यक खोजतलास गर्ने जानकारी गराउँदै उनले तथ्य बमोजिम कानुन अनुसार कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सुन्नुहोस प्रधानमन्त्रीको जवाफ
प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार १३:३२












