गुराँस लघुवित्तको नाफा ८९.९६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
५ साउन, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.९६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । चौथो त्रैमाससम्ममा कम्पनीले १३ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५९.७४ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ८ करोड २८ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ६ करोड ५७ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा १ अर्ब ३० करोड २५ लाख रुपैयाँ सापटी तथा ४५ करोड ५५ लाख रुपैयाँ निक्षेपबाट कुल १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १७ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६४.७८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७९ गुणा रहेको छ।
प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार १०:४४












