मोटरसाइकल चोरी गर्ने नुवाकोटका प्रकाश पक्राउ
५ साउन, काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका ६ घर भई काठमाडौँको गुहेश्वरी बस्दै आएका ३७ वर्षीय प्रकाश लामा रहेका छन् ।
काठमाडौँको तार्केश्वर नगरपालिका ६ सनफ्लावर चोकबाट मोटरसाइकल चोरीमा संलग्न उनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
वास्तविक नम्बर बागमती प्रदेश ०२-०५५ प ४३ ९६ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३७ प ४८ ९४ राखि लामाले चलाइरहेको अवस्था फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकल सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भइ हाल काठमाडौँको गोर्णेश्वर नगरपालिका ९ बस्दै आएका हिमाल तामाङले
काठमाडौँको गोकर्णेश्वर नगरपालिका ९ आरुबारीबाटै हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
मोटरसाइकलसहित नियन्त्रणमा आएका लामालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार ०९:५५












