विभिन्न कोषमा रकम जम्मा गरेपछि मात्र भुक्तानी सम्बन्धी कार्य गर्ने कम्पनीले लाभांश दिन पाउने
४ साउन, काठमाडाैं । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पत्र प्राप्त संस्थाले केन्द्रीय बैंकले तोकेको विभिन्न कोषहरुमा रकम जम्मा गरेपछि मात्रै लाभांश वितरण गर्न पाउने भएका छन् । नेपाल राष्टबैंकले आईतबार भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्था(बैंक तथा वित्तीय संस्था बाहेक)का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
भुक्तानी सम्बन्धी कार्य गर्ने कम्पनीले जोखिम बहन कोष, जगेडा कोष र पूर्वाधार विकास कोषमा पर्याप्त रकम जम्मा गरेपछि मात्रै लाभांश वितरण गर्न पाउनेछ ।
मार्गदर्शनमा नियमकीय पुँजी कायम गर्न आधार निर्माण हुने गरी एवम् कारोबारको निरन्तर अभिवृद्धि साथै जोखिम बहन गर्ने क्षमता विकासका लागि स्रोतको व्यवस्थापन र व्यवसायको निरन्तरता योजना कार्यान्वयनमा सहयोग पुग्ने गरी मात्रै लाभांश वितरण गर्नुपर्ने उल्लेख छ । संस्थाले नियमाकीय पुँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना, नगद लाभांश तथा सेयर लाभांश सम्बन्धी नीतिहरु समावेश गरेर मात्रै लाभांश नीति तर्जुमा गर्नुपर्ने उल्लेख गरिएको छ ।
लाभांश वितरण गर्दा सञ्चित मुनाफा ऋणात्मक हुन नहुने, नाफा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्रै लाभांश घोषणा गनुपर्ने, सेयर प्रिमियम एवम् बार्गेन पर्चेज गेनबाट नगद लाभांश घोषणा गर्न नपाइने एवम् नेटवर्थ ऋणात्मक हुन नहुने शर्त राष्ट्र बैंकले तोकेको छ ।
प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार १४:१८













