संसद बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर, प्रश्नको विषय एक घण्टा अघिनै सभामुखलाई भन्नुपर्ने
४ माघ, काठमाडाैँ । प्रतिनिधिसभाको आज शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा अोलीसँग प्रश्नोत्तर हुने भएको छ । बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो । अाज १२ बजे बस्ने बैठकमा सांसदहरूले प्रधानमन्त्रीसँग सवालजवाफ गर्नेछन ।
कार्य व्यवस्था महाशाखाका शाखा अधिकृत राजन घिमिरेले आज शुक्रबार देखि यो नयाँ व्यवस्था सुरु हुने बताए । प्रतिनिधिसभा नियमावली, २०७५,को परिच्छेद ९ मा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ को खण्ड राखिएको छ ।

बैठक सुरु हुनुभन्दा १ घण्टाअघि नै प्रश्न टिपाउनुपर्ने छ । सभामुखको अनुमति लिई सांसद्ले आफ्नै ठाउँबाट प्रश्न गर्नुपर्नेछ । एक दिनमा १० जना सांसदले मात्र प्रश्न सोध्न पाउने भएका छन । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका संयोजक कृष्णभक्त पोखरेलले सरकार र सांसदबीचको सम्बन्ध स्थापित गर्नका लागि प्रश्नोत्तरको व्यवस्था गरिएको बताए ।
प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार ०७:४५












