अब १० कित्ताभन्दा कम सेयर कारोबार गर्न सहज हुने
१ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १० कित्ता भन्दा तलको सेयरको नियमित कारोबार गर्ने व्यवस्था गरेको छ । १० कित्ता भन्दा कम सेयर कारोबारलाई अड लट समेत भनिन्छ। तर, १० कित्ताभन्दा कम सेयर बिक्रीमा रहेनरहेको देखिन समस्या हुने गरेको छ।
यसै समस्यालाई सम्बोधन गर्दै नेप्सेले आजबाट आफ्नो वेबसाइटको मार्केट डेप्थमा अड लट खरिद तथा बिक्री आदेश देख्न सकिने बनाएको छ। यसबाट आफूसँग अड लट धितोपत्र हुँदा खरिद–बिक्री गर्न नपाएको भन्ने लगानीकर्ताको गुनासो सम्बोधन हुने विश्वास नेप्सेले लिएको छ।
धितोपत्र कारोबार विनियमावली, २०७५ अनुसार धितोपत्रको अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता, १०० रुपैयाँ भएमा १० कित्ता र १००० रुपैयाँ भएमा एक कित्ताको कारोबारलाई बोर्ड लट भनिन्छ। सोभन्दा कम परिमाणमा हुने कारोबारलाई अड लट भनिने व्यवस्था छ।
विनियमावलीले अड लट कारोबारलाई मूल्य परिवर्तन सीमा तथा बजार परिसूचकको गणनामा समावेश नगरिने उल्लेख गरेको छ। साथै, बोर्ड लटमा भएको धितोपत्रलाई टुक्र्याएर अड लट बनाउन नपाइने प्रावधान पनि विनियमावलीमा छ।
प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार १६:३७













