छुट्ला है ! सन नेपाल लाइफको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
३० असार, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २४ हजार ७२८ कित्ता सेयर असार २३ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । कुल सेयर संख्यामा सर्वसाधारण समूहतर्फको १ लाख ४४ हजार ५०६ कित्ता र संस्थागत समूहतर्फको ८० हजार २२२ कित्ता सेयर रहेको छ ।
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा संस्थागततर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, सन नेपाल लाइफको पुतलीसडक,विराटनगर,विरगञ्ज,पोखरा,बुटवल,नेपालगञ्ज,सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
प्रकाशित मिति : ३० असार २०८२, सोमबार ०९:५७












