२ आश्विन २०८२, बिहीबार | Fri Sep 19 2025

पूर्व मन्त्रीदेखि प्रदेश महामन्त्री र जिल्ला सभापतिलाई कांग्रेसले गर्यो कारबाही

२५ असार, काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्ला सभापति लगायतलाई कारबाही गरेको छ । गत निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई  कांग्रेसले कारबाही गरेको हाे ।

केन्द्रीय अनुशासन समितिको असार ९ गतेदेखि १७ गतेसम्म बसेको बैठकले  स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्ना उम्मेदवार वा पार्टीले समर्थन गरेकालाई असहयोग गरेको भन्दै उनीहरूमाथि कारबाही गरेको हो।

निष्काशित हुनेमा तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकुमार राई, पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता छन्। उनीहरूलाई १ वर्षका लागि पार्टीबाट निष्काशन गरिएको हो।

त्यस्तै, केही नेतालाई ६ महिनाका लागि निलम्बन गरिएकाे अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिनुभयाे । ६ महिनाका लागि कारबाहीमा पर्नेहरूमा  कैलालीको धनगढी उपमहानगरपालिका २ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह,कास्की जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव,  धनुषाधाम नगरपालिका वडा नं. १ का रामवावु यादव, . धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव,  धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका १ का क्रियाशील सदस्य सुभाष चन्द,  धनगढी उपमहानगरपालिका ५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरी,  धनगढी उपमहानगरपालिका २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह,  धनगढी उपमहनगरपालिका १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी र  कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर रहेका छन् ।

त्यस्तैगरी, कास्कीका पूर्व सभापति कृष्ण केसी तीन महिनाको लागि निलम्बन भएका छन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार १७:५२