१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

लाभांश र हकप्रद पारित गर्न प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

२५ असार, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। असार २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साउन २३ गते तीनकुनेमा रहेको प्रभु कम्प्लेक्समा २९ औँ वार्षिक साधारण सभा बोलाएको हो।सभा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले कम्पनीको सञ्चालक समितिले यसअघि नै निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। सभाले प्रस्तावित बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी साउन २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ साउन १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांस  पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार ११:२७