रामकुमारीलाई गोकुलको टिप्पणीः हिजो ओलीविरुद्ध बोल्दा ताली ठोक्नेहरू आज मुखमा पट्टी टाँस्न खोज्दैछन्
२५ असार, काठमाडौँ । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेकोबारे टिप्पणी गरेका छन्।
झाँक्रीलाई पार्टीले अध्यक्ष माधव नेपालविरुद्ध अभिव्यक्ति दिएको भन्दै सात दिनभित्र आत्मालोचनासहित जवाफ नदिए कारबाही गर्ने चेतावनीसहित स्पष्टीकरण सोधेको छ।
बाँस्कोटाले झाँक्रीको सोही प्रसङ्गलाई टिप्पणी गर्दै भनेका छन्, ‘जे रोप्यो त्यै फल्छ, प्रकृतिको नियम।’ उनले भनेका छन्, हिजो केपी ओली विरुद्ध रामकुमारी झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिस्पर्धा गर्न पाउने भन्दै बोलेकी थिइन्, र नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकहरूले झैँ ताली ठोक्ने समाजवादी हातहरू आज उनकै मुखमा पट्टी टाँस्न उठिरहेका छन्। त्यो देख्दा उदेक लाग्दो छ।”
उनले झाँक्रीले हिजो ओलीविरुद्ध बोल्दा ताली ठोक्नेहरू आज मुखमा पट्टी टाँस्न खोजेका भन्दै कटाक्ष समेत गरेका छन्।
प्रकाशित मिति : २५ असार २०८२, बुधबार १३:०२