शोधनान्तर स्थिति ५ खर्ब बचतमा
२४ असार, काठमाडाैं । चालु आर्थिक वर्ष जेठ महिनासम्ममा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा शोधनान्तर स्थिति रु.४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ ।
गत आव सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा थियो । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु खाता रु.३ खर्ब ७ अर्ब ३१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२ खर्ब ३८ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.८ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.५ अर्ब ४६ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.८ अर्ब २४ करोड रहेको थियो ।
प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १४:१३









